काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवामार्फत अब ग्राहक महानुभावहरूले सहजरूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारमविना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्नसक्ने व्यवस्था रहेको छ ।
बैंकका अनुसार यो मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार पाँच सय गरी दैनिक अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ । सहज एवं सरल बैंकिङलाई अँगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् र उत्तक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरूपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्टमार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।
बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड विशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले दैनिकरूपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाक्लियर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको जानकारी दिएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको जानकारी दिएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।