अमेरिका । फेसबुकको मातृकम्पनी मेटाको राजस्वमा पहिलोपटक गिरावट आएको छ । यसले फेसबुकको प्रभुत्व क्षीण हुनलागेको संकेत गरेको छ । कम्पनीले जुनमा सकिएको त्रैमासिकमा २८ अर्ब ८० करोड डलर आम्दानी गरेको हो ।
यो भनेको वर्षगत तुलनामा सोही अवधिमा भएको एक प्रतिशत गिरावट हो । सन् २०१२ मा पब्लिक कम्पनी भएयता पहिलोपटक आम्दानी घटेको बताइएको छ । कम्पनीको नाफामा अझै धेरै गिरावट आएको सीएनएनले जनाएको छ । सोही त्रैमासिकमा कम्पनीको कुल आयमा ३६ प्रतिशतले घटेर छ अर्ब ७० करोड डलर पुगेको छ । वर्ष दिनअघि कम्पनीको नाफा दोब्बर बढी थियो ।
मेटाले प्रतिविज्ञापन मूल्यमा १४ प्रतिशतले वर्षगत कमी आएको छ । त्यसो त फेसबुक प्रयोगकर्तामा मासिक सक्रिय संख्या समेत घटेको छ । यो वर्षको पहिलो त्रैमासिकमा यस्तो कमी आउँदा दुई अर्ब ९३ करोड ६० लाखबाट दुई अर्ब ९३ करोड ४० लाखमा झरेको छ । बुधबार विश्लेषकहरुसँगको भेटमा मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यो गिरावट पहिले नै आकलन गरेको बताए ।