दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले ग्रामीण सडकको स्तरोन्नतिलाई विशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले आफ्नै रकमबाट पछिल्लो तीन वर्षमा नौ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
गाउँपालिकाले बुस्ती–पुतलीकाठ सडकखण्ड, गोपिटार सडकखण्ड र देउराली–क्षत्रपा सडकखण्डमा कालोपत्रे गरिरहेको छ । सानो रकमबाट २०७६ सालदेखि कालोपत्रे गर्न सुरु गरेको पालिकाले तीन वर्षको अवधिमा करिब नौ किलोमिटर सडक कालोपत्रे र ढलन पूरा गरेको हो । त्यस्तै गाउँपालिकाले चालू वर्षमै नाम्दु–पाँडु सडक पनि कालोपत्रे गर्ने भएको छ । पालिकाले चालू वर्षमा थप चार किलोमिटर सडक कालोपत्रे गर्न बजेट विनियोजन गरेको गाउँपालिका अधिकृत रविन्द्र चौलागाईंले जानकारी दिए ।
गाउँपालिकाले हालसम्म बुस्तीदेखि पुतलीकाठ सडकखण्डमा २७ सय मिटर सडक कालोपत्रे पूरा गरेको छ । लगातार पछिल्लो तीन वर्ष गाउँपालिकाले यो सडक स्तरोन्नति तथा कालोपत्र गर्न एक करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो भने बागमती प्रदेश सरकारले पनि पालिकाले बजेट छुट्याइएको बजेटबराबर नै हालसम्म तीन करोड बजेट विनियोजन गरेको थियो ।
त्यस्तै मैनापोखरी देउराली क्षत्रपा सडकखण्डमा पनि करिब तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरेको छ । पालिकाले अहिले वर्षा र बाढीपहिरोले क्षति गरेका ग्रामीण शाखा सडकको पहिरो पन्छाउने काम गरिरहेको छ । वर्षाले अवरुद्ध बनेको नाम्दु–क्षत्रपा सडकको मर्मत गरेर गाउँसम्म गाडी पठाउने वातावरण बनाउन लागिरहेको पालिकाले जनाएको छ ।
अविरल वर्षाको कारण अवरुद्ध बनेका सडकको पहिरो पन्छाउन पालिकाले जेसीबीको व्यवस्था गरेको छ । पालिका ग्रामीण सडक धेरैजसो पहिरोले अवरुद्ध गरेको हुँदा पछिल्लो दिनहरूमा गाउँसम्म साना तथा ठूला सवारी चल्न सकेका छैनन् । पहिरोले बैतेश्वरका दर्जन बढी ग्रामीण सडकमा क्षति पुगेको छ ।