काठमाडौं, फागुन १२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकहरूले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरि रहेका होटेल, क्याफे तथा रिसोर्टहरूमा सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल आफ्ना सबै क्षेत्रमा गरी आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीन वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।