काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा ६ पानबारीमा रहेको सरस्वती माविका विद्यार्थी तथा सरोकारवालाहरूसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ पङ्खा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले संस्थागत परिचय साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावी कार्ययोजनाका विषयमा चर्चा गरेका थिए । कार्यक्रम नेरुडेका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षतामा, प्रमुख आतिथि धरान उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई, विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवाल, प्रधानाध्यपक गंगाप्रसाद धमलालगायको उपस्थितिमा भएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरतासम्बन्धीका विषयहरू कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजीकरण गरेका थिए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वित्तीय साक्षरतासँगै प्रविधि साक्षरताको समेत आवश्यकता भएको बताए । कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र भट्टराईले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गरेका थिए । यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्राप्त भएको र आउँदा दिनहरूमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्रअ गंगाप्रसाद धमलाले बताए ।
कार्यक्रममा बंगलादेशका प्राडा मोहम्द युनुसले सुरु गरेको थ्रीजिरो कल्ब (जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी)को अवधारणाका विषयमा नेरुडेका क्रेडिट प्लस कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले जानकारी गराए ।