काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौँ वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार मुलुकभर सात सय ४८ जना नयाँ अभिकर्ताहरूलाई बीमा तालिम प्रदान गरेको छ ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन पाँच सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य राखिएकोमा सात सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । आईएमई लाइफ इन्स्योरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गठ्ठाघरलगायतका शाखाका कार्यालयमा अभिकर्ताहरूलाई तालिम दिइएको थियो । त्यस्तै उपत्यकाबाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगञ्ज, बाँसगढी, गुलरिया, लम्की, भुरीगाउँ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्बास, महेन्द्रनगरलगायतका स्थानहरूमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए । पाँचौँ वर्ष वर्ष पूरा गरेको अवसरमा कम्पनीले शनिबार सातवटै प्रदेशमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा पाँच सय ७१ जनाले रक्तदान गरेका थिए ।