पाँचथर, फागुन १३
तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गरिएको छ । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका हुन् ।
मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने यो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ । पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख बजेट विनियोजन भएको छ । क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले जानकारी दिए ।
उक्त सडकको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताए । उनले भने, ‘यो ६५ किलो मिटर सडक बनेपछि सहरमात्र होइन गाउँ पनि विकास हुन्छ । त्यसैले समृद्धि ल्याउँछ ।’ उनले विकास र समृद्धिको युग सुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गरे ।