काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘रिकरिङ र रिभर्स रिकरिङ खाता’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकहरूको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरूमा सहयोग पु-याउने हेतुले ११ दशमलव शून्य तीन प्रतिशतको उच्चतम् ब्याजदर भएको बीओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरू सार्वजनिक गरिएको हो ।
वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका ग्राकहरूको लागि विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरू भएको यस निक्षेप खाताहरूले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरू सहजरूपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै बैंकले ग्राहकहरूको वित्तीय व्यावस्थापनसहित ११ दशमलव शून्य तीन प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहकहरूलाई त्रैमासिकरूपमा ब्याज भुक्तानी गर्नेछ ।
यस खातामा न्यूनतम एक हजार रुपैयाँदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिकरूपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक पाँँच सय रुपैयाँको गुणांकमा न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्ष बचत गर्न सकिनेछ । यदि रिकरिङ निक्षेप खातावाहकहरूलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ ।
बीओके रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजनिक गरेको हो । खातावाहकहरूको वर्तमानको वित्तीय व्यवस्थापनसहित आकर्षक ब्याजदरको व्यवस्था रहेको बीओके रिभर्स रिकरिङ निक्षेप खातामा एकमुस्ट रकम बचत गरी आवधिकरूपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा रहेको छ ।
न्यूनतम कुल मौज्दात दुई लाख रुपैयाँ भएको यस खातामा ग्राहकहरूलाई वार्षिक ११ दशमलव तीन प्रतिशतको उच्चतम ब्याज मासिकरूपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको छ । साथै, यस रिकरिङ तथा रिभर्स रिकरिङ निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।
हालसम्म बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकवहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।