काठमाडौं । डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सब–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत सात जनाविरुद्ध गैरकानुनी लाभ तथा हानि पु-याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतसमक्ष आरोपपत्र दायर गरेको छ । उनीहरुले सडक निर्माणको क्रममा निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण गरी गराई, झूठा नापी किताब, मूल्याङ्कन बिल, उपभोक्ता समितिको बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको वास्तविक कामभन्दा बढी रकम लिएको भन्दै आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरुले वास्तविक कामभन्दा २० लाख ४८ हजार चार सय तीन रुपैयाँ बढी लिई नेपाल सरकारलाई हानि/नोक्सानी पु-याएको आयोगले जनाएको छ ।
नेपाल सरकारलाई हानि/नोक्सानी पु-याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर बिगो २० लाख ४८ हजार चार सय तीन रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना गरी, बिगोसमेत असुलउपर गर्न र सोही दफाबमोजिम हुने कैद सजाय हुन मागदाबी लिइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरुले मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दूधताल सातदहसम्म पर्यटकीय सडकमार्ग निर्माण गर्न प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम मिलेमतो गरी हिनामिना गरेका थिए । वास्तविकभन्दा बढी रकम देखाउने कार्यमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेत संलग्न रहेका छन् । उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा आयोगले बिगोसहित सजायको माग गरेको छ ।