काठमाडौं । चीनको सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको चीन र नेपालबीचको बहुचर्चित रेलमार्ग केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदानस्वरुप आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएको छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्दा उक्त रेलमार्गलाई अघि बढाउने दुई मुलुकबीच सहमति भएको थियो । त्यसपछि पूर्वसम्भाव्यता अध्ययन भए पनि कोभिडलगायतका कारण उक्त रेलमार्गको विषय ठोस रुपमा अगाडि बढ्नसकेको थिएन । चीनको प्रतिबद्धताको कारण उक्त रेलमार्ग अगाडि बढ्ने आश बढेको छ ।
चीनको भ्रमणमा रहेको परराष्ट्रमन्त्री नारायण खड्कासँगको वार्तापछि चीनले नेपालमा रेलमार्ग पु-याउने तथा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नेलगायतका विभिन्न विकास आयोजनामा १५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । कारखाना स्थापना अगाडि नेपाललाई चीनले रासायनिक मल पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपालमा अहिले पनि किसानहरुले रासायनिक मल नपाएर धानबाली राम्रो हुनसकेको छैन ।
चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको टोली मंगलबार राति चीन गएको थियो । टोलीमाा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल पनि सहभागी थिए । भौतिक सचिव पनि भ्रमण टोलीमा रहेको कारण चीनले भौतिक पूर्वाधार क्षेत्रमा केही सहयोग गर्न खोजेको संकेत मिलेको थियो । दुई मन्त्रीबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घण्टा द्विपक्षीय वार्ता भएको बताइएको छ ।
नेपाल र चीनका मन्त्रीबीचको द्विपक्षीय वार्तापछि बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार चीन र नेपालबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएको हो । सहमतिअनुसार मन्त्री वाङले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोडभन्दा बढी रुपैयाँ) सन् २०२२ को लागि सहयोग गर्ने, तीन मिलियन आरएमबी (साढे पाँच करोडभन्दा बढी रुपैयाँ) नेपालको विपद् व्यवस्थापनको लागि सहयोग गर्ने र दुई मिलियन आरएमबी (तीन करोड ७८ लाख रुपैयाँभन्दा बढी) नेपालको मेडिकल सामग्री र साधनहरुको लागि सहयोग गर्ने उल्लेख छ ।
नेपाल र चीनका दुई विदेश मन्त्रीबीच नेपाल–चीनका नाकाहरुलाई सञ्चालन गर्न संयुक्त संयन्त्र बनाएर काम गर्ने प्रतिबद्धता जनाइएको छ । रुसुवागढी–केरुङ नाका र तातोपानी जाङमु नाकालाई दुईतर्फी सञ्चालनमा ल्याउने तथा हिल्सा–पुलन नाका एकतर्फी रुपमा सञ्चालन गर्ने पनि सहमति भएको छ । नेपाल–चीन सीमापार ट्रान्समिसन लाइनको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । चैतमा मन्त्री वाङको नेपाल भ्रमणको क्रममा अघि बढाउने सहमति भएको थियो ।
चीनले नेपाललाई आवश्यक कोभिड–१९ को खोप उपलब्ध गराउने, कोभिड–१९ को आवश्यक मेडिकल सामग्री उपलब्ध गराउने तथा निजामती सेवा अस्पतालमा रगत क्यान्सरको उपचारको लागि चिमेरिक एन्टिजेन रिसेप्टर (कार) टी सेल प्रयोगशाला स्थापना गर्ने बारेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र चीन दुवै पक्षले चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनाहरुलाई तीव्र रुपमा कार्यान्वयन गर्ने तथा विभिन्न समयमा दुई पक्षबीच भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ । चीनले निर्माण गरिरहेका केही राजमार्गहरुको प्रगति हुन नसकिरहेको बेला ती परियोजनाहरुलाई तीव्रता दिने बताएपछि राजमार्गको निर्माणकार्य अगाडि बढ्ने अपेक्षा गरिएको छ । यस्तै चीनले आफ्नो मुलुक फर्किन चाहने विद्यार्थीलाई स्वास्थ्य प्रोटोकलअनुसार भिसा प्रक्रिया अघि बढाइने जनाएको छ ।