काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ ।
क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति काठमाडौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो । यो छात्रवृत्तिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासंघले जनाएको छ ।
‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् । यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।
क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आईटीको अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।