काठमाडौं । आकर्षक रोजगारीको लागि विदेशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आइतबार दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख रूपैयाँ लाग्ने र त्यहाँको कम्पनीमा चार लाख रूपैयाँ तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख रूपैयाँ ठगी गरेको पाइएको हो ।
त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।
यस्तै यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आइतबार नै प्रहरीले पक्राउ गरेको छ ।
दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार रूपैयाँ लाग्ने र त्यहाँ मासिक एक लाख रूपैयाँसम्म तलब हुने भनी सात लाख ५० हजार रूपैयाँ लिई उनी फरार भएका थिए । उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आइतबार गोंगबुबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।