काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो एक सय १८औँ शाखा उद्घाटन गरेको छ । समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि आइतबार ललितपुरको टौखेलमा आफ्नो एक सय १८औँ शाखा उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्वय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख श्री पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले टौखेलका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय १८ शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, एक सय ५२ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।