काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौंको कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका रामेश्वर श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समेत रहेका श्रेष्ठलाई सोमबार काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरिएको हो ।
‘काठमाडौंको जिल्लाको कामनपा २३ स्थायी घर भई हाल कामनपा वडा नं १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठलाई पक्राउ गरिएको हो’, सीआईबीका उपनिर्देशक प्रहरी उपरीक्षक कमल थापाले भने । प्रहरी उपरीक्षक थापाका अनुसार प्रतिवादी श्रेष्ठ समेतले ज्योति विकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा प्रतिवादी श्रेष्ठलाई बैंकिङ कसुर तथाा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३० दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
सो पश्चात् फरार भएका श्रेष्ठलाई सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले साउन ३० गते सोमबार काठमाडौंको कपनबाट पक्राउ प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन् । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पठाइएकोमा सोमबार नै अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको थापाको भनाइ छ ।