काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ४२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार रामेछापको साबिक भटौली गाविस वडा नं. ७ हालको परिवर्तित मन्थली न.पा.वडा नं. ७ घर भई हाल काठमाडौं का.म.न.पा. १० बस्ने ३९ वर्षीय निरज बुढाथोकीलाई बैंकिङ कसुरको अभियोगमा काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको हो ।
प्रवक्ता थापाका अनुसार बुढाथोकीले सेन्चुरी बैंक लिमिटेड, शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दाहरुमा प्रतिवादी बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा आठ दिन कैद र ४२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सो पश्चात् फरार रहेका बुढाथोकीलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले मंगलबार कोटेश्वर काठमाडौंबाट पक्राउ गरेको हो । प्रवक्ता थापाका अनुसार पक्राउ परेका बुढाथोकीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।