काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता दिवेश पोखरेल (आर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरे ।
कार्यक्रममा पोखरेललाई सम्मान समेत गरिएको थियो । मन्त्री श्रेष्ठले आफ्नै प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पोखरेलको प्रशंसा गरे । काठमाडौंको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा सन् २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’मा भाग लिएपछि चर्चामा आएका थिए । विश्व सद्भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत नेपालको पर्यटन तथा संस्कृति प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।