काठमाडौं । दशैँको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान् पर्व दशैँ तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिएपछि व्यवसायीहरु चिन्तित बनेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् । नेपाल–चीनसँग निकै लामो समयदेखि द्विदेशीय व्यापार हुँदै आएको उल्लेख गर्दै उनले केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरु देखिएको बताएका छन् । यतिबेला आयातित सामग्रीहरु चिनियाँ सीमानाका रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
चाडपर्वलक्षित सामानहरु चिनियाँ नाकामा रोकिएको र समयमा सामान नआइपुग्दा सम्पूर्ण व्यवसायीहरु धराशायी हुने खतरा बढेको महासंघले जनाएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरुले निकै समस्या खेपिरहेका छन् । विविध समस्याका बाबजुद चाडपर्व लक्षित सामग्री अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुःखद कुरा हो’, विज्ञप्तिमा भनिएको छ, ‘सीमानाका यही किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुनसक्ने खतरा बढेको छ ।’ नाकामा देखिएका समस्याहरु समाधान गर्नका लागि आवश्यक कूटनीतिक पहल गरी यथाशीघ्र यी समस्या समाधान गर्न महासंघले सरकार, परराष्ट्र मन्त्रालयलगायत सबै सरोकारवालाहरुसँग आग्रह गरेको छ ।