काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा भदौ १० देखि शिक्षान्तर स्कुल दोस्रो ईपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने बताइएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने भएका छन् । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएका आयोजक नेपाल क्रिकेट इन्स्टिच्युटले जनाएको छ । प्रतियोगिताको पहिलो संस्करण २०७६ मा भएको थियो । कोरोना महामारीको कारण प्रतियोगिताको दोस्रो संस्करण आयोजनामा ढिलो भएको थियो ।
प्रतियोगिताका सबै खेलहरु मीनभवनस्थित ईपीएस स्कुलमा आयोजना हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १४ हजार पाँच सय रुपैयाँ र उपविजेताले आठ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले तीन हजार पाँच सय रुपैयाँ, उत्कृष्ट बलर र ब्याटसम्यानले समान दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन् ।