काठमाडौं । मुलुकभर मिटरब्याजको आतंक छ । मिटरब्याजीहरुलाई कारबाहीको माग गर्दै पीडितहरु काठमाडौं आउन थालेपछि त्यसलाई कम गर्न सरकारले उजुरी आह्वान र कारबाहीको फरमान जारी गरेको छ ।
चर्को ब्याजलाई मिटर ब्याज भनिन्छ र समाजका टाठाबाठा छट्टुहरुले गरिब निमुखा सर्वसाधारण जनतामाथि त्यसरी मिटरब्याजको धन्दा गर्ने गर्दछन् । त्यसले गरिब झन् गरिब बन्दै गएका छन्, उनीहरुको उठिबास लाग्दै गएको छ ।
मिटरब्याज आफैँमा आर्थिक अपराध हो । त्यसलाई रोक्नु सरकाको दायित्व हो । तर पीडितहरु सडकमा उत्रिएपछि मात्रै सरकारले आँखा खोलेको छ त्यो पनि कारबाही गर्नकै लागि हो कि पीडितको आक्रोश मत्थर पार्न हो भन्नेमा शंका छ ।
अहिले गाउँका मिटरब्याज पीडितले विरोधको स्वर निकालेका छन् तर सहरका मिटरब्याज पीडित मूर्छित अवस्थामै छन्, उनीहरुले मुख खोल्न सकिरहेका छैनन् । मिटरब्याजी पनि थरिथरिका छन् । गाउँघरका मिटरब्याजी सामान्यखालका हुन्छन् । दुई/पाँच लाखको लेनदेनलाई मल्टिपल बनाउँदै लग्छन् । तिनमा पनि पालि झेली हुन्छन् ।
कसैले रकम एउटा दिन्छन्, तमसुकमा अर्कै लेख्छन्, कसैले रकम दिएको मिति नै पुरानो राखेर झुक्याउँछन्, कसैले रकम फिर्ता लिइसकेका छन् तर रकम दिएन भनेर उल्टै उजुरबाजुर गरेर पीडितलाई नै सताउँछन् । प्रहरी प्रशासनसँगको मिलेमतोमा मिटरब्याजीहरुले उल्टै पीडितहरुलाई नै सताउँदै आएका छन् । प्रहरी प्रशासन सामाजिक कार्यकर्ताहरु सबैले खुला आँखाले देखेको यथार्थ हो यो तर उनीहरु कसैले पनि त्यसलाई देखेको नदेख्यै गर्दै आएका छन् ।
सहरमा रहेका मिटरब्याजीहरु ठूलो ठूलो लगानी गर्दछन् । कसैले रकम बढाएर पहिल्यै चेक लिएका हुन्छन्, कसैले वैदेशिक रोजगारीको कागज गराएका हुन्छन्, कसैले वैदेशिक रोजगारीको कागज गराएका हुन्छन । घरजग्गाको धितो त लिएकै हुन्छन् । १५ दिनभित्र फर्काए निश्चित ब्याज लिन्छन् र त्यो समय कटाए एकको दुई लिन्छन् । यो धन्दा कुनै लुकीछिपी भएको छैन, सबैका सामुन्ने खुलेआम हुने गरेको छ ।
भन्दा ७२ प्रतिशतसम्म ब्याजमा रकम लगाउने गर्दछन् तर व्यवहारमा त्यस्तो मात्रै छैन । प्रतिशतले नधान्ने गरी कारोबार हुने गरेको छ । कमलादीमा रहेको होटेल ल्याण्डमार्कमा गएर हेर्दा देखिन्छ– मिटरब्याजको एउटा दृश्य । तर अहिलेसम्म प्रहरी प्रशासनले नदेखेको जस्तै गर्दै आएको छ । त्यहाँ मिटरब्याजी अपार्टमेन्ट कब्जा गरेर बसेका छन् । कान्तिपथको होटल माउन्टेन पनि मिटरब्याजीकै कब्जामा छ ।
राजाराम कक्षपति र कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले त्यसो गरेका हुन् । ठमेलको होटल मनाङ यसका नाममा पुगेको भए पनि त्यसका पछाडि पूर्वआईजीपीद्वय शैलेन्द्र खनाल र सर्वेन्द्र खनालको नाम जोडिएको छ । भुजुङ गुरुङलाई समातेर थुने, होटल खोसेर खाइदिए । कान्तिपथमा रहेको ग्रीनलाइन नामको मदिरा पसलमा व्यापारी टाट उल्टनुका पछाडि रुपेश पाण्डेको मिटरब्याज कारक बनेको छ ।
पाण्डे दरबारमार्गको दामिलानो नामको इटालियन सामान बेच्ने पसल र इन्द्रचोकमा रहेको जय अम्बे साडी पसलका मालिक हुन् तर उनका मालिक अर्कै छन् । उनी हुन् सशस्त्र प्रहरीका पूर्वआईजीपी शैलेन्द्र खनाल ग्रीनलाइनका सञ्चालक भारत भागेपछि त्यहाँबाट फर्काएर ल्याइयो र रुपेश पाण्डेले यसबीचमा पटक–पटक भारत गएर ती अग्रवालका परिवारसँग उतै लेनदेन मिलाएर रकम अमेरिका पठाएका छन् र सर्वेन्द्र खनाल त्यसलाई व्यवस्थापन गर्न अमेरिका हानिएका छन् ।
काभ्रेका वीरेन्द्रलाल श्रेष्ठले मिटरब्याज लगानी गर्दै आयो तर उसले आफ्नै बलबुतामा लगाएको होइन । उसका पछाडि पूर्वआईजी किरण गौतम थियो । अर्का मिटरब्याजी प्रहरी अधिकृत थिए नवराज सिलवाल । उनले आफैँले मिटरब्याज लगाएपछि घटनाबाहिर आएपछि ऋणी गुणबहादुर थापालाई बर्दीको बलमा सिध्याउन खोजे तर सकेनन् । आफैँ अप्ठ्यारोमा परे । आईजीपी हुन पाएनन् । तर केपी ओलीको सहयोगमा एमालेको सांसद बने । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको सहयोग र संरक्षणमा केही समय ताण्डव नृत्य नै देखाए । तर विजय प्राप्त गर्न सकेनन् ।
राजधानी सहरमा यस्ता अनेकौँ मिटरब्याजी छन्, उनीहरु आफैँ केही होइनन् । त्यस्ता मिटरब्याजीहरुमध्ये केहीको आईजीपीको भान्छासँग सम्बन्ध जोडिएको हुन्छ । कोहीको गृहमन्त्रीसँग सम्बन्ध जोडिएको हुन्छ । राजन श्रेष्ठ, बलराम सापकोटा, दीपक शाक्य, अजयमान श्रेष्ठलगायतका नाम मिटरब्याजी भनेर प्रचारमा ल्याइने नाम मात्र हुन्, असली मिटरब्याजी उनीहरुका पछाडि अर्कै हुन्छन् ।
जसको नाइटो सत्तासँग जोडिएको हुन्छ । क्यासिनोमा लगानी गर्ने मिटरब्याजीहरु छँदै छन्, सहकारीका नाममा मिटरब्याज लगाउने पनि कम छैनन् । लघुवित्तले उठिबास लगाएर जनता रुँदै हिँडेको पनि देखिएकै छ ।
सहकारीले सबै जोड्दा २७ प्रतिशतभन्दा कम ब्याजमा ऋण दिएका छैनन्, लघुवित्तले त्यसैगरी वैधानिक रुपमै मिटरब्याज लगाएर जनतालाई उठिबास लगाएका छन् । विचराहरु संघर्ष समिति बनाएर सडकमा उत्रिँदा पनि सरकाले चासो देखाएको छैन । जुन देशको गृहमन्त्रीको अंगरक्षक नै सुन तस्करीमा संलग्न रहेको भेटिएको छ, त्यहाँका जनताले शान्ति, सुरक्षा पाउलान्, भनेर कसरी कल्पना गर्नु ? यहाँ मिटरब्याजीमाथि यही गृहप्रशासनले कारबाही गर्ला भनेर जनताले कसरी पत्याउनु ?