काठमाडौं । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित ठेक्का प्रकरणमा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले मुुद्दा जितेसँगै उक्त रकम फिर्ता पाएका छन् । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्केका अनुसार भदौ ७ गते अर्थात् मंगलबार बैंक अफ काठमाण्डू र हिमालयन बैंक दुवैले काउन्टर ग्यारेन्टीमा फसेको रकम फिर्ता पाएका हुन् ।
झण्डै आठ वर्षअघिको बैंक ग्यारेन्टीसम्बन्धी चिनियाँ कम्पनी चाइना रेल्वे ब्यूरो फिफ्टीनसँगको मुद्दाको पुुनः सुुनुवाइ हुँदा चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् नेपाली बैंकहरुले उक्त मुुद्दा जितेका थिए । ‘मुद्दा जिते पनि रकम फिर्ता आउनको लागि विभिन्न चरणहरु पार गर्नुपर्ने रहेछ, अन्ततः मंगलबार रकम फिर्ता आयो, अहिलेको अवस्थामा सिंगो नेपाली बैंकिङ क्षेत्र र मुलुककै लागि यो ठूलो उपलब्धि हो’, बीओकेका प्रमुख कार्यकारी अधिकृत मास्केले भने ।
मेलम्चीको काउन्टर ग्यारेन्टीसम्बन्धी प्रकरणमा पिपुल्स कोर्टको यो फैसलापश्चात् हिमालयन बैंक र बीओकेले झण्डै एक अर्ब ५० करोड नेपाली रुपैयाँ फिर्ता पाएका हुन् । यसरी फिर्ता पाएको रकममध्ये हिमालयन बैंकको भागमा ६६ करोड र बैंक अफ काठमाण्डूको भागमा झण्डै ९० करोड रुपैयाँ परेको छ । मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो । आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौताअनुरुप पूरा नगरी बीचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीउपर दाबी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टीबापतको रकम भुक्तानी गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समूह–१५ बीचको भएको विवादको कारण उक्त बैंक ग्यारेन्टी भुक्तानी रोक्न चिनियाँ अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्स्ट्रक्सन बैंकबाट बीओकेले बैंकले पाउनुपर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेन्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्तस्थित पिपुल्स इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको छ । बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टीबापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ बीओकेले पाएको प्रमुख कार्यकारी अधिकृत मास्केले बताए ।
उक्त प्रकरणमा मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेको तर्फबाट चाइना कन्स्ट्रक्सन बैंकको बैंक ग्यारेन्टीमा नेपालको तर्फबाट हिमालयन र बीओकेले काउन्टर ग्यारेन्टी दिएका थिए । तर पछि मेलम्ची आयोजनाको निर्माणका क्रममा विभिन्न किसिमका अवरोध र असहमति देखिएपश्चात् चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले बीचैमा ठेक्का सम्झौता तोडेको थियो । सोपश्चात् चाइना रेल्वेले बैंक ग्यारेन्टी रोक्का राख्न माग गर्दै चिनियाँ अदालतमा नेपालको हिमालयन बैंक र बीओकेविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुुद्दामा चिनियाँ बैंकले हिमालयन बैंक र बीओकेको विरुद्धमा फैसला गरेको थियो ।
उक्त फैसलापश्चात् चिनियाँ कानुुनमा भएको व्यवस्थाअनुसार हिमालयन बैंक र बीओकेले फैसला चित्त नबुुझेको भन्दै हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टमा पुनरावेदन गरेका थिए । सो अनुुसार उक्त अदालतले हिमालयन र बीओकेको पक्षमा फैसला गरेपश्चात् चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकको ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी रकम फिर्ता पाएका हुन् ।