काठमाडौं । कैलालीको लम्कीचुहाको बादी बस्तीका एक सय ३० भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ३ को वादी बस्तीमा रहेका भूमिहीन दलितलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमका बीच जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेकी हुन् ।
कार्यक्रममा उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रूपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजारभन्दा बढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनीरूपमा जग्गाको मालिक बनाइएको बताइन् ।
साथै उनले यही वर्षभित्र तीन सय पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्र्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय लागेको जानकारी दिइन् । यस्तै उनले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् ।
नदी उकासदेखि बाँझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको उनको भनाइ थियो ।