काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पशुपति संग्रहालय तथा महास्नान घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
बैंकका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पुनर्निर्मित सम्पदाको समुद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्चपदस्थ अधिकारी कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा, पित्तल, ढलौटका मूर्तिहरू, ढुंगाका प्रस्तरकला, संस्कृति झल्काउने भेषभुषा, गरगहना, मुकुण्डो एवं पुरातात्विक महत्वका छैटौ शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरू, प्राचीन मुद्रा, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरू संग्रहालयको मुख्य आकर्षण रहेको छ ।
बैंकले २०७२ को भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्वका सामग्रीहरूलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतीकरण गरी संग्रहालयको रूपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
पुनर्निर्माणपछि नेपाल इन्भेष्टमेन्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा पाँच करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब चार करोड गरी कुल नौ करोडभन्दा बढी सहयोग गरेको बैंकले जनाएको छ ।