काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाडौं–त्रिशूली सडकको १७ किलोमिटर लामो बालाजु–रानीपौवा खण्डको काम अलपत्र पार्ने नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी एआईपीएल (अराभली इन्फ्रापावर लिमिटेड इन्डिया) लाई कालोसूचीमा राखेको छ ।
बुधबार सार्वजनिक सूचना प्रकाशित गरी अनुगमन कार्यालयले सडक सुधार तथा विकास आयोजना निर्देशानलयको भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना बत्तीसपुतली काठमाडौंको मागअनुसार कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा परेका ती कम्पनीले तीन वर्षसम्म ठेक्कामा भाग लिन पाउनेछैनन् ।
अहिले निर्माणाधीन अन्य आयोजनाको काम जारी राख्न भने कुनै समस्या पर्नेछैन । शैलुङ नेकपा माओवादीका अध्यक्ष प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको कम्पनी हो । यद्यपि उक्त कम्पनी भने अनुप अधिकारीको नाममा दर्ता कायम छ । भारतीय र उक्त कम्पनीले संयुक्त रुपमा बालाजु–रानीपौवा सडकको ठेक्का लिएका थिए ।
उक्त कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ठेक्का तोडेर कालोसूचीमा राख्ने निर्णय सो कार्यालयले गरे पनि अदालतको आदेशको कारण रोकिएको थियो । तर, केही दिनअगाडि अदालतले ठेकेदार कम्पनीको रिट निवेदन नै खारेज गरिदिएपछि कालोसूचीमा राख्न खरिद अनुगमन कार्यालयलाई सजिलो भएको हो । उक्त कम्पनीलाई कालोसूचीमा नराखेको बारेमा आर्थिक दैनिकले बुधबारकै अंकमा समाचार प्रकाशित गरेको थियो ।
उक्त सडक खण्ड निर्माणको जिम्मा लिएका ती दुई कम्पनीले समयमा काम नगरेपछि पटक–पटक म्याद थप गरिएको थियो । थप भएको म्यादमा पनि काम नभएपछि सडक विभागले ठेक्का तोडेको थियो । बालाजु–रानीपौवा सडकको २०७१ सालमा ठेक्का सम्झौता भएको थियो । उनीहरुले ठेक्काको शर्तअनुसार काम नगरेको कारण अहिले सो सडक खण्ड अलपत्र छ । गाडी चल्ने अवस्था पनि छैन ।
बालाजुको मुड्खुदेखि तीनपिप्लेसम्मको साढे पाँच किलोमिटर सडकको निर्माण भने द्रुतगतिमा गर्न सडक विभागले आज बिहीबार टेन्डर प्रकाशित गरेको छ । मन्त्रिपरिषद्ले द्रुतगतिमा काम गर्ने भनेर सूचना निकाल्ने निर्णय गरेपछि सडक विभागले सूचना प्रकाशित गरेको हो ।
३४ किलोमिटर लामो रानीपौवा–पिपलटार खण्डको ठेक्का पनि तोडिएर त्यसका निर्माण कम्पनीहरु भारतीय कम्पनी दिनेशचन्द्र आर अग्रवाल र नेपाली कम्पनी नागार्जुन र कोशी एण्ड न्यौपाने कालोसूचीमा परिसकेका छन् । ती कम्पनीले उक्त सडक खण्डको काम २०७४ साल फागुन २१ गते सक्ने गरी २०७२ साल असार ७ गते ठेक्का सम्झौता गरेका थिए । तर, काम भने गरेको छैन ।
उक्त सडक निर्माणको लागि भारतीय एक्जिम बैंकसँग नेपालले २२ मिलियन अमेरिकी डलरबराबरको रकम माग गरेको छ । त्यसको जवाफ भने आइसकेको छैन ।