काठमाडौं । सामाजिक सुरक्षा कोषले औद्योगिक कोरिडोर विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको छ । कोरिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कोषले विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा शाखा कार्यालय स्थापना गरेको हो ।
कोषको कार्यक्षेत्र सबै जिल्लामा रहेको तथा हाल कोषको कार्यालय काठमाडौंमा मात्र भएकोले सरोकारवालाबाट प्राप्त सुझाव तथा कोषको आवश्यकता बोधअनुसार प्रदेशस्तरमा शाखा कार्यालय हुँदा सेवा प्रवाह सहज हुने देखिएकोले कोषको नयाँ स्वीकृत संगठन संरचनाअनुसार विराटनगर र सिमरामा शाखा खोलिएको कोषले जनाएको छ । उक्त कार्यालयहरूबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी–भुक्तानीलगायतका सेवा प्रवाह हुने कोषले जनाएको छ ।
उक्त शाखा कार्यालयहरूको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले भर्चुअलरूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षा योजनामा सहभागी हुन नखोज्ने रोजगारदातालाई सरकारले कारबाही गर्ने बताए । ‘अब सबै रोजगारदाता कोषमा आबद्ध हुनुपर्छ, अहिले सरकारले कोषमा आबद्ध हुन आग्रह गरिरहेको छ’, उनले भने, ‘सरकारको आग्रहलाई बेवास्ता गर्दै गए रोजगारदातालाई कानुनअनुसार कोषको दायरामा ल्याइन्छ ।’ सामाजिक सुरक्षा कोषमा सूचीकृत भएसँगै रोजगारदाता र योगदानकर्ता दुवैलाई फाइदा हुने भन्दै उनले कोषमा आबद्ध हुन आग्रह समेत गरे ।
कोषको दायरा र सेवा क्षेत्र बढाउने उद्देश्यअनुरूप नै प्रमुख दुई औद्यौगिक करिडोरमा शाखा कार्यालय स्थापना गरिएको उनको भनाइ थियो । साथै आवश्यकताका आधारमा अन्य प्रदेशमा पनि शाखा कार्यालय स्थापना गरिने उनले जानकारी दिए । कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले शाखा कार्यालय स्थापना गरेर काठमाडौँ केन्द्रित कोषको सेवालाई विकेन्द्रित गरिएको बताए ।
कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले कोषमा सूचीकृत हुने रोजगारदाता र श्रमिकको संख्या अत्यन्त न्यून रहेको भन्दै संगठित क्षेत्रको सबै श्रमिकलाई कोषको दायरामा ल्याउन माग गरे । ‘कोषमा सहभागी हुने रोजगारदाता र श्रमिकको सङ्ख्या अत्यन्त न्यून छ’, उनले भने, ‘सरकार अभिभावक हो, योजनामा सहभागी हुन आलटाल गर्ने रोजगारदाता र श्रमिकलाई कारबाही गर्नुपर्छ ।’
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार केही समयअघि कोषले सातै प्रदेशमा शाखा कार्यालय स्थापना गर्नका लागि साङ्गाठानिक संरचनाको टुङ्गो लगाएको थियो । केन्द्रीय कार्यालयबाट प्रवाह हुँदै आएको सेवा शाखा कार्यालयबाट लिन सकिने ज्ञावलीले बताए ।
यस्तै कोषको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुटवल र नेपालगञ्जमा पनि सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । कोषमा हालसम्म १७ हजार तीन सय १६ रोजगारदाता र तीन लाख ५५ हजार दुई सय ७१ योगदानकर्ता सूचीकृत भएका छन् । दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन् । कोषमा हालसम्म २२ अर्ब ३१ करोड योगदान रकम संकलन भएको छ । कोषले ५३ हजार योगदानकर्तालाई विभिन्न सुविधा उपलब्ध गराएको छ । कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
कोषले गत सातादेखि योगदानकर्तालाई विशेष सापटी उपलब्ध गराउन थालेको छ । तीन वर्ष नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट कुल बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन् । एक साताको अवधिमा ८० योगदानकर्ताले दुई करोड रूपैयाँबराबरको विशेष सापटी लिएको कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।