काठमाडौं । काठमाडौंको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रोबसलाई ट्राफिक प्रहरीले कारबाहीको लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको छ । गत सोमवार बा १ ज ५७ ७० नम्बरको माइक्रोबस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो । उक्त माइक्रोबसलाई आवश्यक कारबाहीका लागि ललितपुरस्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सवारीसाधन उत्पादन भएको वर्ष र सुरु दर्ता मिति पनि खुलेका सवारीसाधनको हकमा उत्पादन वर्षले २० वर्ष, उत्पादन वर्ष नखुलेको तर सुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा सुरु दर्ता मितिले २० वर्ष पुगे नपुगेको गणना हुन्छ । यस्तै, सुरु दर्ता भईनसकेका भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागजस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे/नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारीसाधन २० वर्षभन्दा बढी चलाउन नपाइने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्रावधान रहेको छ ।