काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको एक करोड ३२ लाख रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक लाख ३२ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको यही भदौ आठ गते सुरु भएको साधारण सेयरको बिक्रीकार्य छिटोमा भदौ १२ गते र ढिलोमा यही भदौ २२ गते बन्द हुनेभएको छ ।
बिक्री खुला गरिएको कुल सेयरमध्येमा एक दशमलव ५१ प्रतिशत अर्थात् दुई हजार कित्ता सेयर कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको एक लाख २३ चार सय कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १३ सय २० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी १० करोड, जारी पुँजी चार करोड एवं चुक्ता पुँजी दुई करोड ६८ लाख रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ ।