काठमाडौं । नेपाल सरकारले गर्दै आएको अडिटप्र्रति अन्तर्राष्ट्रिय समुदायले अविश्वास गर्न थालेका छन् । केही समययता नेपालमा व्यापकरुपमा कालोधनको लगानी भइरहेको बेला अन्तर्राष्ट्रिय समुदायले नेपालले गरेको अडिटिङलाई अविश्वास गरेपछि मुलुककै भविष्य अन्योलमा पर्न थालेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल राष्ट्र बैंकले गराएको अडिटप्रति अविश्वास गरेपछि नेपालको शुभचिन्तकहरुको मनमा संशय पैदा हुनपुगेको हो ।
आईएमएफले नेपाल राष्ट्र बैंकलाई अन्तर्राष्ट्रिय अडिट फर्मबाट आफ्नो हिसाबकिताबको अडिट गराउन सुझाव दिँदै आएको थियो । तर राष्ट्र बैंकले आईएमएफको सुझावलाई लत्याउँदै आएको थियो र महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउँदै आएको थियो । राष्ट्र बैंकले त्यसरी अटेरी गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल राष्ट्र बैंक माथि कारबाही थालेको छ र कोषले राष्ट्र बैैंकलाई प्रदान गर्ने रकमको किस्ता रोकेको छ ।
कोषले राष्ट्र बैंकले तीन वर्ष दुई महिनामा ३९८.८ मिलियन अमेरिकी डलरबराबरको रकम दिने सम्झौता गरेको थियो र पहिलो किस्ता ७८.५ मिलियन डलर २०२१ डिसेम्बर २२ मा दिएको थियो । कोषले एक्सटेन्टेड क्रेडिट फ्यासिलिटीअन्तर्गत १० वर्षको लागि निर्ब्याजीरुपमा दिनलागेको उक्त रकमको सबै किस्ता २०२३ सम्ममा आइसक्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकले कोषको सुझावअनुसार अन्तर्राष्ट्रिय फर्मबाट आफ्नो हिसाब अडिट नगराउँदा आइसक्नुपर्ने दोस्रो किस्ताको रकम ३९.२ मिलियन अमेरिकी डलर रोकेको मात्र छैन कि निर्ब्याजीरुपमा दिएको रकममा ब्याज लगाउन समेत खोजिरहेको बुझिएको छ । यस विषयमा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भने बोल्न चाहेनन् । उनले भने, ‘यो हल्ला मात्र हो, त्यस्तो अवस्था छैन ।’