काठमाडौं ।भारत सरकारले गहुँमा निर्यात प्रतिबन्ध लगाएपछि खाद्यान्नको ट्रेडिङ कारोबार गर्दै आएका कारोबारीदेखि विचौलियासम्म मालामाल बन्दै गएका छन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा मात्रै सञ्चालन रहेका सातवटा मैदा उद्योगका लागि दैनिक आवश्यक पर्ने छ सय टन गहुँ अहिले विचौलिया र गहुँको ट्रेडिङ कारोबार गर्ने कारोबारीले नेपाल भारतका सीमामा रहेका अवैध नाकाको प्रयोग गरी भारतबाट आयात गरिरहेको पाइएको छ ।
एक मैदा उद्योगीका अनुसार दुई हजार दुई सय रूपैयाँ प्रतिमेट्रिक टनमा गहुँ खरिद बिक्री भइरहेकोमा भारतको प्रतिबन्धसँगै विचौलिया र ट्रेडिङ कारोबारीले प्रतिटन चार हजार आठ सय रूपैयाँ मूल्य कायम गरेका छन् ।
गहुँमा अत्यधिक भएको मूल्यवृद्धिपछि २४ घण्टा चल्दै आएको मैदा उद्योगलाई अहिले ८ घण्टामा ल्याएर चलाउन आफूहरू बाध्य भएको उद्योगीहरूको गुनासो छ । भारत सरकारले गुहँमा लगाएको प्रतिबन्धलाई देखाएर विश्वव्यापीरूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको भन्दै कारोबारीहरूले अवैध नाकाको प्रयोग गरी गहुँको आयात गरेर महँगोमा बेच्दै आएका छन् । साथै ट्रेडिङ कारोबारीले मैदा मिललाई गहुँ उपलब्ध गराउँदा पनि कच्चा बिलको अत्यधिक प्रयोग गर्नेगरेका छन् ।
अत्यधिकरूपमा गहुँको मूल्य बढेसँगै करिडोरमा सञ्चालन हुँदै आएका मैदा उद्योगहरूले पनि मैदाको मूल्य उच्चरूपमा वृद्धि गरेका छन् । मैदाको मूल्य बढेपछि करिडोरमा रहेका बिस्कुट, पाउरोटी, चाउचाउ उद्योगले पनि पछिल्लो समय आवश्यक पर्ने मैदाको आयात भारतबाटै गर्न थालेका छन् ।
गहुँको मूल्यमा एक्कासि उच्च वृद्धि आएपछि मैदा उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको मैदा उद्योगी बताउँछन् । गहुँको आयात भारतमाथि नै निर्भर रहेको कारण गहुँ प्रतिबन्धसँगै विचौलिया र गहुँको ट्रेडिङ कारोबार गर्दै आएका कारोबारीले कमाउने अभियान नै सञ्चालन गरेको कारण आफूहरू समस्या परेको मैदा उद्योगीहरूको भनाइ छ ।
स्रोतका अनुसार मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया ठेगाना कायम गरी आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम रहेको शिव भगवती ट्रेडर्सले मोरङका विभिन्न ठाउँमा गोदाम लिएर गहुँको कारोबारलाई तीव्रता दिएको छ ।
उक्त ट्रेडिङ फर्मले मोरङको कटहरी गाउँपालिकामा मात्रै करिब आठवटा गोदाम भाडामा लिएर गहुँको स्टोक गरेको स्रोतको दाबी छ । यसबाहेक मोरङ जिल्लाकै जहदा गाउँपालिका रामचौकमा पनि एक गहुँका विचौलिया राखेर भारतबाट अवैधरूपमा नेपाल भित्रिएको गहुँ स्टोर गर्नका लागि उतै चारवटा गोदाम भाडामा लिएर राख्न थालेको स्रोतको भनाइ छ । उक्त गहुँ बिक्री गर्नका लागि शिव भगवति ट्रेडर्सका सञ्चालक मुकेश अग्रवाले आफ्नो ट्रेडिङ फर्मको बिक्रीबिल प्रयोग गर्नेगरेका छन् ।
नेपाल सरकारको नियमअनुसार गहुँ बिक्रीमा मूअकर समेत नलाग्ने व्यवस्था भएको कानुनी फाइदा उठाउँदै अग्रवालले अहिले पनि कटहरी गाउँपालिकामा रहेका आफ्ना आठवटा गोदाममा मात्रै ४० हजार मेट्रिक टनभन्दा बढी नै गहुँ स्टोर गरेर राखेको स्रोतको दाबी छ ।
आन्तरिक राजस्व कार्यालयमा विराटनगरबाट २०५९ साल भदौ २८ गते ३०१०५६११ मा आयकर मात्रै दर्ता कायम रहेको शिव भगवती ट्रेडर्सले छोटो समयमा नै वार्षिक ५० करोडभन्दा माथिको कारोबार गर्दै आएको छ । यद्यपि वार्षिक आयकर भने कम्पनीले अत्यन्त न्यून बुझाउने गरेको छ । उक्त व्यावसायिकि फर्ममाथि राजस्वको पनि निगरानी रहेको राजस्वस्रोतले बताएको छ । सञ्चालक अग्रवाल समयअनुसारको कारोबार गर्न अत्यन्तै खप्पीस छन् ।
उनी समयअनुसार चामल, दलहन, तोरी, चिनी र गहुँको व्यापारमा संलग्न हुने गर्दछन् । कारोबारअनुसार व्यवसायी अग्रवालले वार्षिक ५० लाखभन्दा बढी राजस्व बुझाउनुपर्ने हुन्छ । तर राजस्वको कानुनी छिद्रा समाएर न्यून आयकर मात्रै बुझाएर उन्मुक्ति पाउँदै आएका छन् । राजस्व अत्यन्तै कम बुझाएका अग्रवालले आफ्नो हैसियत भने विराटनगरमा करोडौँको दर्जामा पु¥याएका छन् ।
अग्रवालले गर्ने कारोबारमध्ये धान र तोरीमा मात्रै मूअकर लाग्ने भएकाले उक्त कारोबार खानेतेलका उद्योगी र राइस मिलका सञ्चालकबीचमा हुने सहमतिका आधारमा मात्रै तोरी र धानको कारोबार गर्नेगरेको करिडोरका उद्योगीहरूले बताएका छन् ।
गत जेठ महिनामा भारत सरकारले गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णय गरेसँगै शिव भगवती ट्रेडिङका सञ्चालक अग्रवाल हौसिएर पछिल्लो समय गहुँको कारोबारबाट मालामल भएको व्यवसायीहरूको भनाइ छ ।