दोलखा, फागुन १५
जिल्लाका उच्च ठाउँमा पुनः हिमपात भएको छ । मंगलबार र बुधबार परेको वर्षासँगै जिल्लामा पुनः हिमपात भएको हो । जिल्लामा गत मंसिर महिनादेखि पटक–पटक विभिन्न समयमा हिमपात हुँँदै आएको छ । दोलखाको उच्च भागहरू कालिञ्चोक, शैलुङ, खरीढुङ्गा जिरीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने अन्य केही ठाउँमा सामान्य हिमपात भएको छ । मंगलबार र बुधबार परेको पानी र हिउँका कारण जिल्लाको अदिकांश भू–भागमा चिसो बढेको छ । हिउँ परेसँगै जिल्लामा पर्यटकको चहलपहल पजि बढेको छ । भ्रमण वर्ष चलिरहेको बेला झरेको हिउँले पर्यटकको बाक्लो चहलपहल देखाएको हो । गत शनिबार पनि जिल्लाको दुई स्थान कालिञ्चोक र शैलुङमा बाक्लो हिमपात भएको थियो । मंसिरको अन्तिम सात परेको हिउँ बिलाउन नपाउँदै यस क्षेत्रमा पुन हिमपात भएपछि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई भने चिसोले सताएर दैनिक जनजीवन प्रभावित बनाएको छ ।
चिसोका कारण घरबाहिर निस्केर काम गर्ने वातावरण नभएको कालिञ्चोकका स्थानीय होटल व्यवसायी चन्द्र तामाङले जानकारी दिए । मौसममा भएका परिर्वतनसँगै दोलखाको खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा समेत हिमपात भइरहेको स्थानीयले बताएका छन् । लगातारको हिमपातका कारण जिरी पुग्ने सवारी साधन खावाँमा केही समय अवरुद्ध भए पनि प्रहरीले स्थानीयको सहयोगमा हिउँ पन्छाएर यातायात सुचारु गरेको जिल्ला प्रहरी कार्यालय दोलखाकाले जनाएको छ । खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा हिमपातले यातायात अवरुद्ध हुनसक्ने भएकोले प्रहरी निरीक्षक रेशम बोहोराको कमाण्डमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।