अमेरिका, संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यले आगामी सन् २०३५ सम्ममा पेट्रोलियमबाट चल्ने सवारीसाधनको बिक्रीमा प्रतिबन्ध लगाउने भएको छ । जलवायु परिवर्तनसँग जुध्न उक्त राज्यले लिएको यो हालसम्मकै ठूलो कदम हो । नयाँ नियमअनुसार कार कम्पनीमाथि दबाब बढ्नेछ । उनीहरुले स्वच्छ ऊर्जामा आधारित सवारी साधन उत्पादन गर्नुपर्नेछ ।
गभर्नर ग्याविन न्युसमले सन् २०२० मै परम्परागत इन्धनमा आधारित सवारीसाधनबाट नवीकरणीय ऊर्जामा आधारित सवारीसाधनतर्फ रुपान्तरणमा जाने लक्ष्य सार्वजनिक गरेका थिए । त्यसपछि अहिले उक्त राज्यले यस्तो कदम चालेको हो । यो नियमअनुसार राज्यमा बिक्री हुनेमध्ये सन् २०२६ सम्ममा ३५ प्रतिशत सवारीसाधन विद्युतीय, हाइब्रिड वा हाइड्रोजन पावरको हुनुपर्नेछ ।