अमेरिका, फागुन १५
इन्टरनेटमा खोजी गर्ने कम्पनी गुगलले आफ्नो एपहरु प्रतिबन्धित हुवावेका नयाँ मोबाइल फोनमा नचलाउन मोबाइल प्रयोगकर्तालाई आग्रह गरेको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले उत्पादन गरेका पछिल्ला फोनहरुमा गुगलका एपहरु जिमेल, युट्युब, प्लेस्टोरहरु चल्दैनन् । तर एन्ड्रोइड फोनहरुले अप्रमाणीकृत स्रोतबाट ती एप पनि डाउनलोड गर्न अनुमति दिन्छ । सोही कारण गुगलले त्यसरी एपहरु साइडलोडिङ गर्दा उच्च जोखिमपूर्ण हुने चेतावनी दिएको हो । सीसीएस इन्साइटका विश्लेषक बेन वुडका अनुसार गुगलले त्यसरी सार्वजनिक चेतावनी दिनु जायज छ । सन् २०१९ को मेदेखि आफ्नो एप हुवावेका फोनमा चल्न नदिने कम्पनीले निर्णय गरेको थियो ।
अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्दै अमेरिकी कम्पनीलाई हुवावेसँग कारोबार नगर्न भनेको थियो । गुगलले अहिले एन्ड्रोइड फोन अपरेटिङ सिस्टमको पनि स्वामित्व लिएको कारण हुवावेका एन्ड्रोइड फोनमा समेत असर गरेको हो । गुगलले पछिल्लो घटनाक्रमलाई लिएर आधिकारिक सल्लाह सार्वजनिक गर्ने तयारी गरेको छ । यो मामिलामा अमेरिकी सरकार र हुवावे संलग्न भए पनि गुगल प्रत्यक्ष संलग्न छैन । हुवावेकै पुराना फोनमा भने गुगलका सबै एपहरु चलिरहेका छन् । तर नयाँ फोनलाई भने प्रमाणीकरण गर्न नसकिने कम्पनीले जनाएको छ । हुवावेले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । यसबारे आरोप हैन प्रमाण ल्याएर पुष्टि गर्न समेत उसले बारम्बार भन्दै आएको छ ।