काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । आज सोमबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
संस्थाको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने १८ लाख ८३ हजार एक सय १८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका एक हजार पाँच सय ५१ तथा अन्य कारणबाट आवेदन रद्द भएका ९८ हजार चार सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनमध्येबाट १२ हजार तीन सय ४० जनालाई न्यूनतम १० इकाइ बाँडफाँट गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई भदौ ८ देखि १२ गतेसम्म सार्वजनिकरूपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर निष्काशनमा निष्काशन गरिएको कुल सेयर एक लाख ३२ हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशतबराबर छ हजार छ सय कित्ता तथा कर्मचारीलाई जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशतबराबर दुई हजार कित्ता छुट्याई बाँकी रहेको एक लाख २३ हजार चार सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब एक सय ६८ दशमलव ६४ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको छ । हाल संस्थापकतर्फ लघुवित्तको चुक्ता पुँजी दुई करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी चार करोड रुपैयाँ पुग्नेछ । (आर्थिक दैनिकबाट)