बाँके, फागुन १६
नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्ती नदीबाट पानी ल्याउने योजना अघि बढाउँदै काम सुरु गरेको छ । राप्ती नदीको पानी ल्याउन खानेपानी संस्थानले झण्डै २५ करोड लगानी गरेको छ । त्यसका लागि पाइप यसअघि नै ल्याइसकिएको छ । राप्ती किनारमा इन्टेक बनाएर नेपालगञ्जसम्म पानी ल्याउने संस्थानको योजनाअनुसार काम सुरु भैसकेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए । उनका अनुसार, राप्तीनदीदेखि नेपालगञ्जसम्म झण्डै १७ किलोमिटर पाइप बिछ्याइने छ । ‘त्यसका लागि फिल्डमा काम सुरु भैसकेको छ’, उनले भने, ‘४ किलोमिटर पाइप बिछ्याउने काम भैसकेको छ ।’ योजना सकिएपछि हाल निश्चित समयमा ४० लाख लिटर पानी वितरण गर्दै आएको खानेपानीले दैनिक ढाइ करोड लिटरसम्म पानी वितरण गर्न सक्ने जनाएको छ ।
‘दशकौंका लागि खानेपानी उपलब्ध गराउने दीर्घकालीन योजना हो’, संस्थानका नेपालगञ्ज प्रमुख भट्टले भने । चालू आवको अन्त्यसम्म पानी नेपालगञ्जसम्म ल्याउने योजना भए पनि विभिन्न कारणले ढिलाइ हुनसक्ने संस्थानका नेपालगञ्ज प्रमुख भट्ट बताउँछन् । ‘पाइप बिछ्याउने भनिएको ठाउँमा सडक कालोपत्रे भएको छ’, उनले भने, ‘झण्डै ५ किलोमिटर क्षेत्र पिच भैसकेकाले पुनः खनेर पाइप बिछ्याउँदा लक्ष्य गरेभन्दा बढी समय लाग्न सक्छ ।’ काम गर्दा देखिएका बाधा सुल्झाउन सरोकारवालासँग छलफल पनि अगाडि बढाएको भट्टले बताए । ‘कतिपय ठाउँमा सडक, नाला र घर बनेका ठाउँमा पाइप बिछ्याउनु पर्ने अवस्था छ’, उनले भने । राप्ती नदीबाट पानी नेपालगञ्जसम्म २० इन्च पाइपबाट झण्डै १७ किलोमिटर राप्ती पथ हुँदै खानेपानी मेन लाइन विस्तार गर्ने योजना रहेको छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेका खानेपानीका ट्यांकीमा पु¥याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ संस्थानका नेपालगञ्ज प्रमुख भट्टले जानकारी दिएका छन् । आयोजना सकिँदा संस्थानको कारकाँदो र घरबारी टोलमा रहेको ट्यांकीसम्म राप्तीको पानी पु¥याइनेछ ।प्रमुख भट्टले राप्तीको पानी पिउनयोग्य बनाउनका लागि शुद्धीकरणका लागि राप्ती नदी वा नेपालगञ्जमै त्यस खालको संरचना निर्माण पनि आवश्यक रहेको बताएका छन् । शुद्धीकरणबाट इन्टेकमार्फत पानी ल्याउने योजना भए पनि त्यसरी शुद्ध खानेपानी सम्भव नभए ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गर्ने संस्थानको योजना रहेको छ ।