काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसनबीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम गरिएको हो ।
सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मुख्य आतिथ्य तथा एक एक पाइला फाउन्डेसनका अध्यक्ष डा. सुमन शमसेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोबास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले सो परियोजना कार्यान्वयनका लागि २० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरेबापत कम्पनीका उपकार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।