नयाँ दिल्ली । भारतको पछिल्लो निर्णयले विश्वमा चामलको मूल्य बढ्नसक्ने देखिएको छ । यसले खाद्य क्षेत्रको महंगी बढ्नसक्ने देखिएको एजेन्सीहरुले जनाएका छन् ।
भारत, थाइल्यान्ड, भियतनाम र म्यानमारजस्ता मुख्य चामल निर्यात गर्ने देशमा मूल्य उच्च हुँदै गएको छ । व्यापारी तथा विश्लेषकहरुका अनुसार यसले खाद्य आयातकर्तालाई थप मारमा पार्नेछ । यसअघि नै प्रतिकूल मौसम र रुस–युक्रेन युद्धको मार उनीहरुले खेपिसकेका छन् ।
भारतले बिहीबार मात्रै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने विभिन्न किसिमका चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल लगाएको थियो । सोसँगै विभिन्न देशमा खाद्य सुरक्षामाथि थप दबाब हुनसक्ने देखिएको छ । योसँगै गहुँ र मकैको मूल्य समेत बढ्नसक्ने बताइएको छ ।
भारतले कडाइ गर्दा थाइ र भियतनामी चामलको माग बढ्ने देखिएको छ । तर भारतले कति समयसम्म कडाइ गर्छ त्यसमा भर पर्ने बताइएको छ । विश्वमा सबैभन्दा बढी चामल आयात चीन र फिलिपिन्सले गर्ने गरेका छन् । चामलको मूल्य बढ्दा यी देशलाई समस्या हुनसक्नेछ । चीनले भारतबाट कनिका समेत आयात गर्दै आएको छ । यसैबीच भियतनाम र थाइल्यान्डले चामल निर्यात बढाउने संकेत गरेको एएफपीले जनाएको छ ।