लन्डन, फागुन १६
कोरोना भाइरस संक्रमण विश्वभर फैलिँदै गर्दा डिटोल र लाइसोलको बिक्री ह्वात्तै बढेको छ । बीबीसीका अनुसार वैज्ञानिक रुपमा यसले भाइरस संक्रमण कति मात्रामा रोक्न सक्छ भन्ने पुष्टि नभए पनि डिटोलको बिक्री बढेको हो । चीनमा डिटोल ब्रान्डका हातमा प्रयोग गर्ने जेलको माग उच्च भएको कम्पनीका रेकिट बेन्सकिसरले बताए । विश्व सेयरबजार लगातार छैठौँ दिन ओरालो लागिरहँदा डिटोलले राम्रै कमाइ गरिरहेको छ । कोरोना भाइरसले सबैजसो कम्पनीलाई असर गरेको छ । लक्जरी कार निर्माता एस्टन मार्टिन र पेय पदार्थ निर्माता अन्ह्युजर बुस्च इनबेभले पनि आफ्नो व्यवसायमा असर गर्ने चेतावनी दिएका छन् ।
एबी इन्बेभ विश्वकै ठूलो बियर निर्माता हो । उसको सेयर ९ प्रतिशतले ओरालो लागेपछि सन् २०२० को वृद्धि अनुमान समेत कम्पनीले सार्वजनिक नगर्ने भएको छ । त्यस्तै एस्टन मार्टिनको सेयर पनि ओरालो लागेको छ ।यता डिटोलले स्टोर बन्द भए पनि अनलाइन बिक्री भइरहेको जनाएको छ । भाइरस संक्रमणको बेला हात धुन डिटोलको साबुनको माग बेलायतमा उच्च भएको हो । नियमितभन्दा नयाँ ग्राहक डिटोलले पाएको बताइएको छ ।