काठमाडौं । हिमाल दोलखा हाइडोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा यही असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हालको पुँजी एक अर्ब ६० करोड रुपैयाँको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरले एक कित्ता सेयरको शून्य दशमलव ७५ प्रतिशतको अनुपातमा एक अर्ब २० करोड रुपैयाँबराबरको एक करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माईखोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत् आयोजना (८ मेगावाट) हाइडोपावर सञ्चालन गरेको छ ।