काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः १८ अर्ब २५ करोड रुपैयाँ बराबरको टे«जरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असोज १३ गते पनि राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति असोज २५ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ कात्तिक २२ गते, ९१ दिनेको २०७९ पुस २६ गते, एक सय ८२ दिने अवधिको २०७९ चैत्र २८ गते र तीन सय ६४ दिने अवधिको २०८० असोज २३ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुुने यी ट्रेजरी बिलहरु पुरानो नवीकरण अन्तर्गतका छन् । यसअघि अर्थात् यही असोज १३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौं अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।