बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढीप्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । अविरल वर्षाका कारण आएको बाढीले पु-याएको क्षतिको जानकारी लिन शनिबार बाँके आइपुगेका मन्त्री अथकले राप्तीसोनारी गाउँपालिका २ टिकुलिपुरको स्थलगल निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानीय युवाहरूलाई अपिल गरेका छन् । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र कोहलुरको जनजीवन नराम्रोसँग प्रभावित भएको भन्दै मन्त्री अथकले राहत तथा उद्धारमा जुट्न अपिल गरेका हुन् ।
बाँके क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री अथकले राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभावितहरूका लागि ठोस राहत घोषणा गर्न पहल गर्ने बताउँदै मन्त्री अथकले त्यस क्षेत्रको डुबान समस्या समाधानका लागि दीर्घकालीन रणनिति बनाउन संसद्मा लगातार कुरा उठाउँदै आएको बताए ।
दीर्घकालीनरूपमा डुबानको समस्या समाधानका लागि केन्द्रीयस्तरबाटै योजना बनाएर छिटै समस्या समाधानको उपाय खोजिने बताउँदै मन्त्री अथकले डुबानमा परेका स्थानीयहरूलाई आवश्यक सबै प्रकारको सहयोग गर्न स्थानीय पालिकाका प्रमुख तथा स्थानीय प्रशासनलाई निर्देशन दिएका हुन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य उषा पुनले राप्ती नदीका कारण भएको डुबान तथा कटान समस्याबारे राप्ती सोनारीका विभिन्न वडाहरूमा पुगी जानकारी लिएको बताइन् । उनले बाढीका कारण जनता भयावह अवस्थामा रहेको भन्दै उद्धार र राहातमा ध्यान दिन स्थानीय प्रशासनलाई आग्रह गरिएको बताइन् । उनले राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध निर्माण गरेर मात्रै जनतालाई बाढीबाट बचाउन सकिने भन्दै त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिन् ।
राप्ती नदीका कारण राप्ती सोनारी गाउँपालिकाका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमानजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् । (आर्थिक दैनिकबाट)