किभ । रुसले सोमबार युक्रेनका मुख्य–मुख्य सहरमा दर्जनौँ क्षेप्यास्त्र आक्रमण गरेको छ । बीबीसीका अनुसार सोमबार बिहानैदेखि रुसले कम्तीमा ८४ वटा क्षेप्यास्त्र आक्रमण गरेको हो । युक्रेनका सेना प्रमुख जनरल भ्यालेरी जालुझिनीले एकाबिहानैदेखि उक्त संख्यामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन् । उनले ट्विट गर्दै तीमध्ये धेरै क्षेप्यास्त्र युक्रेनको हवाइ प्रतिरक्षामार्फत निष्प्रभावी तुल्याइएको दाबी गरेका छन् । राजधानी सहर किभ, निप्रो, जापोरिझिया, खर्किभ, तेर्नपिल, लिभिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ । किभमा भएको आक्रमणमा कम्तीमा ११ जना नागरिक मारिएको र कैयौँ घाइते भएको युक्रेनका गृहमन्त्रीले बताएका छन् । महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको किभका मेयरले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि निप्रो, जापोरिझियालगायतमा रुसले क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । त्यस्तै खर्किभका मेयरले सहरमा रुसले ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र हानेको बताएका छन् । यसले विद्युत् आपूर्ति बन्द भएको छ भने पानीको पनि समस्या देखिएको छ । त्यसैगरी तेर्नपिल र लिभिभमा पनि क्षेप्यास्त्र आक्रमणबाट विद्युत् आपूर्ति बन्द भएको छ । यता समी, झिटोमिर, खेमेल्नित्स्की र किरोभोरादमा पनि ठूला विस्फोटन सुनिएका छन् । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया–रुस जोड्ने पुलमा गरिएको ‘आतंकवादी आक्रमण’को जवाफस्वरुप क्षेप्यास्त्र आक्रमण गरिएको प्रतिक्रिया दिएका छन् । उनले युक्रेनलाई सो पुल विस्फोटमा जिम्मेवार ठह-याउँदै थप आक्रमण गरे सशक्त आक्रमण गर्ने पनि चेतावनी दिएका छन् ।