काठमाडौं । नेपालको हवाइ सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली सङ्घ (ईयू) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ । नेपालको हवाइ उड्डयन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाइ सुरक्षाबारे सकारात्मक रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । ईयूको प्राविधिक टोलीले गरेको अडिटबारे जानकारी दिन प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले ईयूको प्राविधिक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा १० वर्षको अवधिमा ठूलो उपलब्धि ‘ग्रेट अचिभमेन्ट’ हासिल गरेको प्रतिक्रिया दिएको बताए । उनले भने, ‘ईयूको टोलीले मलाई ‘ग्रेट अचिभमेन्ट’ भनेर प्रारम्भिक प्रतिवेदन दिएको छ । अन्तिम प्रतिवेदन छिट्टै बुझाएपछि सार्वजनिक गर्छौँ । नेपालले हासिल गरेको उपलब्धिमा ईयूको टोली पूर्णरूपमा सन्तुष्ट रहेको छ । सायद आउँदो मे महिनासम्ममा नेपाल ईयूको सुरक्षा सूचीबाट हट्नेछ ।’ नेपालमा हालै तीन दिन अडिट गरेको ईयूको प्रतिनिधिले प्राधिकरणसहित तारा एयर र समिट एयरको स्थलगत अध्ययन गरेको थियो । ईयूले प्राधिकरण विभाजन गरेर सेवा प्रदायक र नियामक बनाउन कहिल्यै निर्देशन नदिएको बरु हवाइ सुरक्षामा सुधार गर्न र आधुनिक प्रविधिको भरपुर उपयोग गर्न सुझाएको महानिर्देशक अधिकारीले बताए । संस्थागत सुधारलाई लिएर सुरक्षा सूचीमा राखेको विषय निराधार रहेको भन्दै सोही हल्लाले प्राधिकरणले १० वर्ष किनै कठिनाइ बेहार्नुपरेको उनको तर्क थियो । ईयूको प्राविधिक टोलीले अक्टोबर आगामी कात्तिक ११ गते नेपाललाई प्रतिवेदन दिने जनाइएको छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ । इयासाको टेक्निकल ओअप्रेसनको टिमले अक्टोबर यही असोज २० देखि २२ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो । नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाइ सुरक्षा दर र हवाइ दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ । उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ । ईयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाइ उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आईकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो ।