काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेन्ट्रल ल्याबमा स्याम्पल कलेक्सन गर्ने काउन्टरहरु खुल्ने समयावधि बढाइएको छ । यसअघि ओपीडीमा आउने बिरामीहरुको ल्याब परीक्षणका लागि स्याम्पल कलेक्सन गर्ने काउन्टरहरु बिहान ८ बजेदेखि खुल्ने गरेका थिए । अब भने बिहान ७ बजेदेखि नै सो काउन्टरहरु खुल्ने व्यवस्था गरिएको छ । यस्तै काउन्टरहरु खाजा समयमा समेत खुला रहने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार अब काउन्टरहरु बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म लगातार रुपमा खुल्नेछन् । बिरामीहरुको दिनानुदिन बढ्दो चापलाई मध्यनजर राखी तथा बिरामीहरुले अझ सहजरुपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले समयावधि बढाइएको पोखरेलले बताए । साथै, अस्पतालमा भर्ना भएका बिरामीहरुको स्याम्पल कलेक्सनमा समय थप गरी आइतबारदेखि बिहीबारसम्म बेलुकी ७ बजेसम्म र शुक्रबारका दिन बेलुकी ४ बजेसम्म गरिएको छ । त्यसैगरी, प्रतिष्ठानको प्रयोगशालामा आउने बिरामीहरुको सुविधालाई मध्यनजर गर्दै ओपीडी र वार्डको स्याम्पल कलेक्सन काउन्टर तथा रिपोर्ट वितरण काउन्टर छुट्टा छुट्टै स्थानमा व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए । उनका अनुसार ओपीडी स्याम्पल कलेक्सन सेन्ट्रल ल्याबमा रहेको काउन्टर नं. १ देखि ७ मा गरिनेछ भने वार्डमा भर्ना भएका बिरामीको काउन्टर नं. ८ (सेन्ट्रल ल्याबको उत्तर पट्टी बाहिर आईसीयू र वार्ड जाने करिडोरको बीचमा, भुइँतल्ला)मा गरिनेछ । यस्तै ओपीडी रिपोर्ट वितरण सेन्ट्रल ल्याब प्रवेशद्वारको उत्तर पट्टीको कोठा नं. २६ बाट गरिने छ । वार्डको रिपोर्ट भने सम्बन्धित वार्डबाट नै उपलब्ध हुने पोखरेले जानकारी दिए । काठमाडौं ।