काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको समेत बताए । साथै उनले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई मुलुकको समृद्धिमा सहभागी हुन संस्थामा आबद्ध सबै गैरआवासीय नेपालीलाई अपिल समेत गरे ।
संसारभरि छरिएर रहेका हरेक नेपालीहरू नेपालका गैरआवासीय दूतहरू भएको बताउँदै उनले विदेशमा नेपालको पहिचान दिलाउन र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे । गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपभोगलाई प्राथमिकता दिनसके यसबाट स्वदेशी उत्पादनको निकासी प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ । यसबाट नेपाली श्रम, सीप र कच्चापदार्थमा आधारित साना तथा मझौला उद्योगधन्दाको संरक्षणमा समेत टेवा पुग्ने उनले बताए ।
यस्तै उनले आफूले विदेशमा आर्जन गरेको आयलाई नेपालमा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपाली राजदूतावाससँग समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजी र प्रविधिलाई नेपालमा भित्र्याउन समेत अग्रसरता लिन आवश्यक रहेको बताए । संघको अनुरोधबमोजिम यस आर्थिक वर्षको बजेट वक्तव्यमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरेको उनको भनाइ थियो ।
त्यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाएको उनले जानकारी दिए । यसैगरी धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उनले बताए । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था पनि गरेको छ ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै संघले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा नागरिकतासम्बन्धी ऐनमा संशोधन गरेर समाधान गरिने बताए ।
कार्यक्रमा गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । सरकारले नागरिकतासम्बन्धी विधेयकअघि बढाइ दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी दिए ।
मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले संघलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा संघसँगको सहकार्य र संघको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय रहेको उल्लेख गरे ।
संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर संघको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गरिन् । अर्का अध्यक्ष कुल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानुन निर्माणका लागि आग्रह गरे भने अध्यक्ष डा बद्री केसीले आगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।