काठमाडौं । प्रेस काउन्सिलद्वारा जारी पत्रकार आचार संहिता (पहिलो संशोधन २०७६) को उजुरी तथा कारबाही सम्बन्धी व्यवस्थाअनुसार कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचार चित्त नबुझे सोही मिडियामार्फत निःशुल्क खण्डन छाप्न सक्ने हुँदाहुँदै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सीईओ तथा प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले अनैतिक रुपमा लाखौं रुपैया खर्चेर अन्य मिडियामार्फत खण्डन गरेका छन् ।
आर्थिक दैनिकमा प्रकाशित समाचारबाट अत्तालिएर भण्डारीले केही दिनअघि एक दैनिक पत्रिकामा लाखौँ खर्च गर्दै खण्डन प्रकाशित गराएका हुन् ।
समाचार प्रकाशन भएपछि बचतकर्ताहरुले आफ्नो रकम फिर्ता माग्न लाइन लागेपछि भण्डारीले यस्तो अनैतिक काम गर्नुपरेको उनी निकटस्थहरु बताउँछन् ।
विजयदशमीको पूर्वसन्ध्यामा सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न थालेपछि सहकारीका सीईओ भण्डारी सम्पर्कविहीन बनेका थिए ।
उनले ललितपुरको भैँसेपाटी क्षेत्रका जग्गा जमिन बिक्री गरेर भाग्ने तयारी गरेको विषयमा आर्थिक दैनिकले खबर प्रकाशन गरेको थियो । समाचार गलत भए प्रकाशित समाचारलाई लिएर सम्बन्धित मिडिया मा नै निःशुल्क खण्डन छाप्न पाउने व्यवस्था हुँदाहुँदै उनले त्यसबाट आम जनताको ध्यान मोडेर जग्गा बिक्री गरी भाग्नकै लागि अन्य पत्रिकामा संस्थाको पैसा खर्च गराएर खण्डनलाई विज्ञापनको रुपमा प्रकाशित गरेका हुन् ।
समाचार प्रकाशन भएपछि विभिन्न व्यक्तिलाई फोन गर्दै सुरेन्द्रको धम्की
सहकारीको नाममा रहेको सम्पत्ति बिक्री गरेर भाग्न लागेको विषयमा समाचार प्रकाशन भएपछि सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले विभिन्न व्यक्तिलाई फोन गरेर धम्की दिन थालेका छन ।
‘सूचना किन चुहाइस् भनेर मलाई धम्की दिए । जग्गा जमिन बिक्री गरेको कुरा ललितपुरको सैँबु क्षेत्रमा सबैलाई थाहा छ,’ सहकारीकै ती सञ्चालकले भने, ‘सबैलाई शंकाको दृष्टिले धम्की दिने कार्य भइरहेको छ ।’