काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) नयाँ ब्रोकर कम्पनीको लाइसेन्सको लागि अनुमती माग गरेकामध्ये १० वटा कम्पनीहरुलाई ब्रोकर कम्पनीको रुपमा कारोबार गर्ने अनुमतीको लागि नाम सिफारिस गरेको छ ।
नेप्सेका अनुसार बुधबार अर्थ मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको अध्यक्षतामा बसेको नेप्से सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएकामध्ये सबै अर्थात् १० वटा ब्रोकर कम्पनीहरुलाई अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्ने निर्णय गरेको हो ।
नेप्सेका अनुसार यसरी नाम सिफारिस गरिएका नयाँ कम्पनीहरुमा क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टि बिगाड, कलश सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज, सेयर ब्रो सेक्युरिटिज, प्रभु स्टक, एनएमबी सेक्युरिटिज, हिमालन ब्रोकरेज र केबीएल सेक्युरिटिज कम्पनी छन् ।
धितोपत्र व्यवसायी नियमावलीको २०६४ को पाँचौं संशोधनले नेप्सेको सिफारिसपश्चात् बोर्डले नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबार सञ्चालनको लागि अनुमति दिनसक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थामा टेकेर नै अनुमतिको लागि नाम सिफारिस गरिएको नेप्सेले जानकारी दिएको छ ।