काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने भएको छ । निर्वाचन आचारसंहिताविपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोकोे नतिजा सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले उक्त कार्य नगर्न निर्देशन समेत दिएको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी आचारसंहिताविपरीत कोही–कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेका छन् । आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।
साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।