काठमाडौं । निर्वाचन आयोगले सातमध्ये दुईवटा प्रदेशको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीको मतपत्र छपाइ सकिएको जनाएको छ ।
आयोगका अनुसार मंसिर ४ गते हुने उक्त निर्वाचनका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको हो । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेशसभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
आयोगका अनुसार यसपटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्र छपाइ गरिएको छ ।
निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको पनि आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण सुरु भइसकेको छ । हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु पनि आयोगले जनाएको छ ।