संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार मालीमा राष्ट्रसंघीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा चाडका तीन शान्ति सैनिक मारिएका थिए भने तीन जना घाइते भएका थिए ।
परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । परिषद्का सदस्य राष्ट्रले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाईप्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।
शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतंकवाद अन्तर्राष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेका छन् ।