काठमाडौं । विशेष कार्यक्रमका बीच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो । बैंकका दुई सयभन्दा बढी कर्मचारी तथा ग्राहकहरूका बीचमा सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्नका लागि चार लाख ८० हजार दुई सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमका बीच सो चेक हस्तान्तरण गरे । सो कार्यक्रममा नेपाल नेत्र ज्योति संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतीक्षालय निर्माण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ सँग सम्झौता गरेको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले एक कार्यक्रमका बीच सो सम्झैतामा हस्ताक्षर गरेका हुन् ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २० शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालयहरू, एक सय ५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।