काठमाडौं । भक्तपुरका उद्यमी व्यवसायीले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार ज्ञापनपत्र समेत पेस गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यावसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेस गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र पेस गर्दै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढन नसकेको उद्योगी व्यवसायीको भनाइ छ । निक्षेप बढ्न नसके पनि ब्याजदर उच्च हुँदा गम्भीर नकारात्मक असर परेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले स्थानीय प्रशासनसमक्ष ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् । ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनुपर्ने माग गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गर्नेगरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनुपर्नेतर्फ पनि व्यवसायीले सुझाव दिएका छन् । मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैंकबाट पहल हुनुपर्ने पनि व्यवसायीको माग रहेको छ ।